विश्व

कतारबाटअनुमतिबिना नै स्वदेश फर्कन पाइने



भदौ २१, एजेन्सी ।  कतारमा रहेका विदेशी कामदारले अब रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्किन पाउने भएका छन् ।

कतारका अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै अब स्वदेश फर्किन रोजगारदाताको अनुमति लिनुपर्ने नियम खारेज भएको छ ।

रोजगारदाताले कामको प्रकृति हेरी झन्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ चाहिने व्यवस्था गरेको छ । तर त्यसका लागि रोजगारदाताले श्रम मन्त्रालयलाई नामसहित उचित कारण पेस गर्नुपर्नेछ ।

तर  घरेलु कामदार कानुनभन्दा बाहिर भएको भन्दै श्रम नियममा आएको सुधारले उनीहरुलाई सहयोग नगर्ने कतारले जनाएको छ ।

नयाँ नियमअनुसार स्वदेश फर्किने प्रक्रिया

१. आपतकालीन समस्या आइपरेमा वा वार्षिक विदाका लागि आफ्नो सम्झौताअनुसार निवेदन दिन सकिन्छ ।

२. धेरैजसो रोजगारदाताले अनुमति नदिने गरेको र आफ्नो हकमा पनि त्यसै भएमा ‘एक्जिट परमिट’ कमिटीमा गएर निवेदन दिन सकिने छ ।

३. कतारको ‘ई गभरमेन्ट सर्भिस पोग्राम’, ‘गभरमेन्ट सर्भिस् कम्प्लेक्स’ र कतारका जुनसुकै प्रहरी चौकीमा पनि निवेदन दिन सकिने छ ।

४. निवेदन प्राप्त भएको ७२ घण्टाभित्रमा नै समस्याको सुनुवाई हुनेछ ।

नेपाल सरकारले पनि कतार जाँदा म्यानपावर धाउन नपर्नेगरी ‘रोजगारी भिलेज’को व्यवस्था गर्ने बताउँदै आएको छ । यसोहुँदा रोजगारदाता स्वयमले नेपाल आएर कामदार लैजानेछन् ।

कतारको प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयका अनुसार धेरैजसो भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स र बंगलादेशी नागरिक काम गरिरहेका छन् ।