Banner News

पृथकतावादी सोचलाई अन्त्य गर्दै नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली



काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकता सोचहरुलाई अन्त्य गरेको बताउनुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो । समृद्ध नेपाल आफैँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘त्यसका लागि लगानी सम्मेलन उत्साह जनक ढंगले सम्पन्न ग¥यौँ, राष्ट्र एक ठाउँमा रह्यो ।’

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको बताउनुभयो । उहाँले अब देश टुक्र्याउनु पर्छ भन्ने माग नरहेको बताउँदै देशमा एकजुट हुने वातावरण सिर्जना भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी सभ्य र सुसंस्कृत समाजका नागरिक हौँ भन्ने भुल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।’