समाचार

सडक दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते



काठमाडौँ, ११ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६, घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरीले जानकारी दिएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका थिए ।

गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६, बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति करिब ८ः४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

ग६प ३०२९ नम्बरको मोटरसाइकलमा सवार तिमिल्सिना बसको ठक्करबाट घाइते भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको थियो । ठक्कर दिने बस र चालकको पहिचान भइनसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।