समाचार

‘इन्टरनेट मार्फत वालयौन दुव्र्यवहार बढ्यो’ : डिएसपि काफ्ले



काठमाडौँ, ११ बैशाख । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट मार्फत वालयौन दुव्र्यवहारका घटना बढ्दै गएको बताएका छन् ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायीक प्रहरी सेवा तथा सामुदायीक सेवा केन्द्र वडा नं १० र ३१ काठमाडौंको सहकार्यमा साथसाथ नामक गैरसरकारी संस्थाद्वारा बुधबार नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा डिएसपि काफ्लेले सो कुरा बताएका हुन ।

अभिभावकले आफ्ना छोराछोरीलाई सजिलैसंग मोवाइल उपलव्ध गराएकोले त्यसको सदुपयोग भन्दापनि दुरुपयोग बढेको प्रति गुनासो गर्दै आफ्ना छोराछोरीले मोवाइलमा के खेल्छन, कस्तो साइटहरु हेर्छन र कोसंग च्याट गर्छन, त्यसबारे अभिभावकले बेलाबेलामा छड्के जाँच गर्नुपर्ने कुरामा पनि डिएसपि काफ्लेले जोड दिए । थाहा पाउँदा पाउँदै या अन्जानमै वालवालिकाहरु मोवाइल र सामाजिक सञ्जालको कुलतमा फस्दै गएको पनि उनले गुनासो गरे ।

नयाँबानेश्वर वृत्तले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरको १०, ३१ र ३२ को साथै कागेश्वरी मनोहरा नगरपालिकाका ७, ८ र ९ वडाका ९० वटा विद्यालयमा विद्यालय—प्रहरी समन्वय समिति गठन गरि सो समिति मार्फत विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई साइवर क्राइम लगायत विभिन्न अपराधिक गतिविधिबारे सचेतात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

सामुदायीक सेवा केन्द्र ३१ की उपाध्यक्ष सीता सत्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्का उपाध्यक्ष उज्जैन श्रेष्ठ तथा साथसाथ संस्थाकी संयोजक कविता शाहलगायले वालयौन दुव्र्यवहार न्यूनिकरणका बारेमा आआफ्नो विचार व्यक्त गरेका थिए ।