समाचार

एएस डिपार्टमेन्ट स्टोरमा चोरी



सर्लाही, १२ वैशाख । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ ।

स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको उक्त रकम चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

छ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको र सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।