समाचार

१४ विधाका फोटो पत्रकार पुरस्कृत



काठमाडौँ, १४ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले विभिन्न १४ विधामा फोटो पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रहरी प्रशासनमा रहेर पु¥याएको योगदानको कदर गर्दै पूर्वप्रहरी नायब महानिरीक्षक माधवबहादुर थापालाई विशेष सम्मान गर्नुभयो ।

त्यसैगरी यसवर्षको ‘नेपाल लाइफ इन्स्योरेन्स लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५’ फोटो पत्रकार मिनरत्न बज्राचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार छ । हरि गोपाल फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकार श्याम चित्रकार, महेश प्रधान, देवकी विष्ट र नातिकाजी महर्जनलाई प्रदान गरिएको छ ।

यस्तै यस वर्षको ‘प्रदेश स्तरीय उत्कृष्ट फोटो पत्रकारिता अवार्ड–२०७५’ बाट प्रदेश नं १ का सरोज जोशी, प्रदेश नं २ का दिवाकर भण्डारी, प्रदेश नं ३ का मनिष दवाडी, गण्डकी प्रदेशका दुर्गाप्रसाद पौडेल, प्रदेश नं ५ का खड्कप्रसाद चापागार्इं, कर्णाली प्रदेशका राष्ट्रिय समाचार समितिका हेमन्त केसी र सुदुरपश्चिम प्रदेशका राससकर्मी शेरबहादुर सिंहलाई प्रदान गरिएको छ ।

यसैगरी पुरस्कृत हुनेमा पत्रकार सुरेशकुमार पुन, गोरखापत्रका फोटो पत्रकार कविता थापा, पत्रकार राजन काफ्ले, पत्रकार प्रविन रानाभाट, पत्रकार दीपक केसी र पत्रकार सुशीलकुमार श्रेष्ठ रहनुभएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको बताइएको छ । सोही अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्न पत्रकारिता क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रम संयोजक तथा एनएफपिजेका महासचिव प्रदीराज वन्तले फोटो पत्रकारिता क्षेत्रमा रहेका फोटो पत्रकारको कामको सही मूल्याङ्कन र प्रोत्साहन गर्ने उद्देश्यले सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो । एनएफपिजे फोटो पत्रकारितामा संलग्न पत्रकारको अधिकारका लागि विसं २०५३ मा स्थापना भएको हो ।