समाचार

डाक्टरको लापरवाही : ५ वर्षीया बालिकाको मृत्यु



काठमाडौँ, २४ बैशाख । बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको छ । डाक्टरहरुले आज साढे चार बजे परिवारलाई बालिकाको मृत्यू भएको जानकारी दिएका थिए ।

मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यु भएको आफन्तले आराप लगाएका छन् । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको हो । २ महिनादेखि मुटुको भल्वमा प्वाल परेको बताएर शल्यक्रिया गर्नुपर्ने डाक्टरले बताए अनुसार बालिकाका काका सुरेन्द्र शाहका अनुसार गत १७ गते शल्यक्रिया गरिएको थियो ।

काका सुरेन्द्रका अनुसार ‘सबै मेडिकल रिपोर्टहरुमा उनको ब्लड ग्रुप ओ पोजिटिभ लेखिएको थियो । तर, अपरेसनका क्रममा बाहिर आएर डाक्टरले ए पोजिटिभ रगत चाहियो भन्नुभयो । त्यहीअनुसार हामीले ए पोजिटिभ रगत व्यवस्था गर्‍यौं । तर, अपरेसनपछि हामीलाई बिरामी भेट्न दिइएन । मैले १९ गते उनलाई हेर्दा भेन्टिलेटरमा चढाइएको थियो । हामीलाई जिवित छिन् भनेर देखाउन मात्रै भेन्टिलेटरमा राखिएको रहेछ । हामीले सोध्दा होस खुल्न आँटेको छ भन्थे । तर उनीहरुले झूट बोलिरहेका थिए ।’

यो बीचमा अस्पतालले किर्ते मेडिकल रिपोर्टहरु बनाएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘अपरेसन अगाडि मैले सबै मेडिकल रिपोर्ट फोटोकपि गरेर राखेको थिएँ । तर, अहिले उनीहरुले देखाएको रिपोर्टसित त्यो मिल्दैन । सक्कली लुकाएर सबै किर्ते रिपोर्ट बनाएछन् । जबसम्म गल्ती गर्ने डाक्टरलाई कारवाही हुँदैन, तबसम्म हामी शव बुझ्दैनौं ।’ आफूहरु प्रहरीमा उजुरी गर्ने तयारीमा रहेको जानकारी समेत उहाँले गराउनुभयो ।