समाचार

मुस्लिम समुदायको आजबाट रमजान सुरु



काठमाडौँ, २४ बैशाख । मुस्लिम समुदायको पवित्र पर्व रमजान आज मंगलबारबाट सुरु भएको छ ।

आजबाटसुरु भएको रमजान एक महिनासम्म मुसलमान धर्मावलम्बीहरु ‘रोजा’ उपवास बस्छन् । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।

रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै-प्यासै रही अल्लाहलाई सम्झी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।