समाचार

रेमिट्यान्समा २० प्रतिशत वृद्धि, ९ महिनामा भित्रियो साढे ६ खर्ब



काठमाडौँ, ६ जेठ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले ९ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह सुधार भएको जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशत मात्रैले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने गिरावट आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो अवधिमा ३९.३ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ६.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.१ प्रतिशतले घटेको थियो ।

चालु अर्थिक वर्षको नौ महिनामा व्यापार घाटा झनै उकालो लागेको छ । पछिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको  छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिले व्यापार घाटा अचाक्ली बढेको देखाएको छ । राष्ट्र बैंकका अनुसार नौ महिनामा १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँको सामान विदेशबाट आयात हुँदा नेपालले भने जम्मा ६९ अर्ब ८२ करोडका सामान मात्रै निर्यात गरेको छ ।

गएको आर्थिक वर्षको नौ महिनाको तुलनामा यो आर्थिक वर्षको नौ महिनामा कूल वस्तु आयात २१ दशमलव ३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात १९ दशमलव २ प्रतिशत, चीनबाट भएको आयात ३५ दशमलव ३ प्रतिशत र अन्य देशबाट भएको आयात १९ प्रतिशतले बढेको छ ।

विगतका वर्षभन्दा निर्यातको दर पनि केही बढेको छ । तर आयात धेरै हुँदा व्यापार घाटाको बढ्दो ग्राफ घटेको छैन । वस्तु आयात गत वर्षको नौ महिनाको तुलनामा १६ दशमलव ९ प्रतिशतले बढेर ६९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको नौ महिनामा निर्यात ८ दशमलव २ प्रतिशतले बढेको थियो ।

पछिल्लो नौ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले खर्चको अवस्था पनि निराशाजनक देखाएको छ । बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कूल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ ।

तर अघिल्लो वर्षको नौ महिनामा कूल सरकारी खर्च ६ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । पछिल्लो नौ महिनामा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) १९ दशमलव ५ प्रतिशतले बढेर ६ खर्ब ४ अर्ब ६० करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २० दशमलव ८ प्रतिशतले  धेरै हो ।

२०७५ चैत मसान्तमा सरकारका विभिन्न खाताहरुमा १ खर्ब ४४ अर्ब ९२ करोड (स्थानीय तहको खातामा रहेको रु.५१ अर्ब ४७ करोड समेत) नगद मौज्दात रहेको छ ।

२०७४ चैत मसान्तमा १२ सय ७७ दशमलव ६ विन्दुमा रहेको नेप्से परिसूचक मा यो चैत महिनामा ११ सय ८४ विन्दुमा झरेको छ । धितोपत्र बजार २ दशमलव ४ प्रतिशतले घटेर १४ खर्ब ६२ अर्ब ५१ करोड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा ४ खर्ब ७ अर्ब ६४ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा २३ अर्ब ६० करोड बराबरको साधारण सेयर, ८ अर्ब ५९ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २ करोड बराबरको बोनस सेयर र ३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।