समाचार

गोली प्रहार गरी प्रहरीको सर्वाधिक खोजीमा रहेका तामाङ पक्राउ



काठमाडौैँ, ६ जेठ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई पक्राउ गरेको छ ।

दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो । ‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ । प्रहरीका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो ।