शैक्षिक

प्रहरीसंग साना विद्यार्थीको प्रश्न : ‘जेब्रा क्रसिङ्ग नभएको ठाँउमा कसरी बाटो काट्ने?’ पुलिस अंकल



मंगलबार मध्यबानेश्रस्थित सृष्टि एकेडेमीका साना विद्यार्थीले प्रश्न सुनेर उनीहरुलाई सडक सुरक्षाबारे कक्षा लिन गएका प्रहरी अधिकृत नै अवाक् भए । उनीहरुलाई एककक्षाका केटाकेटीको प्रश्नको जवाफ दिन समेत धौधौ भयो र अलमलमा परेका प्रहरी अधिकृत हाँसे मात्रै ।

बानेश्वरमा २०२६ सालदेखि सञ्चालित ५० वर्ष पुरानो इन्टरनेशनल किन्डरगार्टेनद्वारा सञ्चालित सृष्टि एकेडेमीका एकदेखि ४ कक्षासम्मका विद्यार्थी सम्मिलित सडक सुरक्षासम्वन्धि कक्षामा सहभागी विद्यार्थी प्रहरी अधिकृतभन्दा जान्नेसुन्ने भेटिएका थिए ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायीक प्रहरी सेवा बानेश्वर १० को आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा वृत्तका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेले सडक सुरक्षाबारे कक्षा लिँदै गर्दा आधाभन्दा बढी विद्यार्थी हात उठाएर आफ्नो कुरा राख्न खोज्दथे । उनीहरु नेपाली र अंग्रेजी दुबै भाषमा प्रश्न गर्न खप्पिस थिए ।

ट्राफिक वत्ति, बाटो काट्ने सुरक्षित ठाउँ ‘जेब्रा क्रसिङ्ग’, आकाशे पुल अर्थात ओभरहेड ब्रिज, सबवे अर्थात अन्डरग्राउण्ड लगायतका बारेमा कक्षा लिँदै गर्दा साना विद्यार्थीको प्रश्न हुन्थ्यो ‘सडकमा जेब्रा क्रस नै मेटिइसक्यो, अनि त्यस्तो ठाउँमा कहाँबाट बाटो काट्ने पुलिस अंकल?’

अप्ठेरो प्रश्न आएपछि डिएसपि काफ्ले हाँस्दै जवाफ दिए ‘जेब्रा क्रसिङ्ग मेटिएकै ठाउँबाट या अरु ठाउँमा भए आफुभन्दा ठुला व्यक्तिको सहयोगमा मात्रै बाटो काट्नुपर्छ ।’ मेटिएको जेब्राक्रसिङ्गको ठाउँमा प्रहरीले फेरि बनाईदिन्छ कि भन्ने केटाकेटीको जिज्ञासा थियो ।

धेरै ठाउँमा वटुवा हिँड्ने फुटपाथ (सडक पेटी) पनि छैन, अनि फुटपाथ नभएको ठाउँमा हामीजस्ता केटाकेटी कहाँबाट हिँड्ने नि ? अर्काे खरो प्रश्न आएपछि डिएसपि काफ्लेले जवाफ दिए ‘सडकको किनारबाट चनाखो भएर हिँड्ने, तर एक्लै होइन, अभिभावकसंग या आफुभन्दा ठुला व्यक्तिसंग ।’

आफ्नो घर, टोल छिमेकमा केही घटना भए नेपाल प्रहरीको फोन नं १०० सडक दुर्घटना भएमा ट्राफिक प्रहरीको १०३ र वालवालिका हराएका वालवालिका खोज केन्द्रको १०४ नम्बरमा टेलिफोन गरेर जानकारी गराउन पनि डिएसपि काफ्लेले वालवालिकालाई भने ।

सडक सुरक्षाबारे नेपाल प्रहरीले तयार गरेको सन्देशमुलक भिडियो ‘सिग्नल भाई र कोन दाई’ देखाउनुका साथै अन्य जनचेतनामूलक सामाग्री पनि देखाइएको सडक सुरक्षासम्वन्धि कक्षामा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका नायव निरीक्षक छविलाल ढकालले पनि कक्षा लिएका थिए भने सृष्टि एकेडेमीकि प्रिन्सिपल वानी प्रधानले विद्यार्थीलाई सडक सुरक्षाको महत्वबारे बताएकी थिइन ।