समाचार

प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन



भक्तपुर, ४ असार । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज हस्ताक्षर अभियान संचालन गरेको हो ।

दुधपाटीमा संचालन गरिएको हस्ताक्षर अभियान अन्तर्गत पत्रकार, नागरिक समाजका अगुवा, पेशाकर्मी लगायत दुई सय जनाले हस्ताक्षर गरेको पत्रकार महसंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलनका कार्यक्रमहरुलाई उपेक्षा गर्दै सरकार महासंघले उठाएका मागप्रति गम्भीर नभएपछि महासंघ तेस्रो चरणको आन्दोलनमा होमिएको हो ।

संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत असार ६ गते प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति आग्रह गरेको छ ।