राजनीति

कांग्रेस लोकतन्त्रबाट बिचलित भएको अराजकतावादीहरुको ठेगदार : सांसद बस्नेत



भक्तपुर, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रको मुल ठेगदार मान्ने गरेको तर कांग्रेस मुल ठेकदार नभई लोकतन्त्रबाट विचलित भएको अराजकतावादीहरुको ठेगदारको रुपमा आफ्नो छवि बनाउँदै गएको बताउनुभएको छ ।

गोकुलघाट खोला पुल उपभोत्ता समितिको आयोजनामा बुधवार सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने गोकुलघाट खोला पुल उद्घाटन गर्दै सांसद बस्नेतले सरकारले ल्याएको लोकप्रिय बजेटबाट अत्तालीएका व्यक्तिहरु अराजक आन्दोलनको लैरी टेकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान समयमा जो मानिसको मनमा हरी छ उसले विरोध गरेको छैन, जसको मनमा हरी छैन उसले सरकारको राम्रो कामको अनावश्यक रुपमा विरोध गरेको छ । जो अराजक छ, अपराधीक मानसिकता छ उसले विरोध गरेको छ । भिरबाट खसेको मानिसले जे भेट्यो त्यही समाउँछ, कहिले काही खुट्टा नभएको मानिसको बैसाखी खोसीदिए उसले जे पायो त्यही टेक्छ, त्यस्तै प्रतिपक्षी दलका सांसदहरु जे पायो त्यही समाउने गरेको छ ।’

भक्तपुरको विकास वा परिवर्तन देखेर प्रतिपक्षीलाई डाहा हुन थालेको बताउँदै सांसद बस्नेतले विश्वको इतिहासमा प्रधानमन्त्रीले सभामुखसँग समय लिएर बोल्न खोज्दा रोष्टम घेरेर बोल्न नदिने कुरा संसारमा कहि नभएको घटना हिजो संसदमा भएको बताउनुभयो । सरकारले गुठीलाई व्यवस्थित बनाउनको लागि ल्याइएको बताउँदै उहाँले भन्नुभयो, ‘गुठी विधेयक गलत भएर फिर्ता लिएको हैन, गुठीको नाममा परिस्थितीलाई बेठिक बनाएका कारण सहजता प्रदान गर्न फिर्ता लिएको हो । सरोकारवालासँग छलफल गरी पुनः ल्याउनेछ ।’

गुठी ऐन फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको सोच पुरातनवादी सोच तथा यथास्थीतिवादी बिचार भएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले गुठीमा रहेको विकृतिलाई हटाएरै छोड्ने बताउनुभयो । उहाँले गुठीको जग्गा कब्जा गरी बनाईएका ठूला ठूला भवन बनेको कयौं घटनाहरु जनताको सामु रहेको बताउँदै भन्नुभयो, ‘गुठीको जग्गा कब्जा गरी बनाएको जग्गा कि सरकारको हुनुपर्छ कि सम्बन्धीत गुठीवालाको हुनुपर्छ । अब आउने विधेकयले यसलाई सम्बोधन गर्छ ।’

भक्तपुरको सवालमा हिजो कसले भोट हाले कि हालेनन्, यो मतलव छैन, जसको जसको तथा जहाँ समस्या, विकास आवश्यकता रहेको छ त्यहाँ जनप्रतिनिधि रहेको बताउँदै उहाँले भक्तपुरको विकास दुई/चार वर्ष पछि आउने मानिसले आफ्नो गाउँसम्म नचिन्ने गरी तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले बालकुमारी देखि रानीकोट सडक, सूर्यविनायकबाट गुण्डु हुँदै घ्याम्पेडाँडा सडक, प्राणी उद्यान, स्मार्ट सिटी बन्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो ।

यो वर्ष सूर्यविनायक नगरपालिका वडा नं. ७ मा ३३ करोड बजेट ल्याउन सफल भएको बताउँदै उहाँले सूनपाका प्रत्येक वडामा करिब २० करोड भन्दा माथिको विकास कामहरु भएको बताउनुभयो । उहाँले आगामी वर्ष डोलिडारबाट ६ वटा, भौतिक मन्त्रालयबाट २ वटा गरी आठ वटा पुलहरु बन्ने र अर्को वर्षमा पुल चाहिन्छ भन्दा जनताले अब चाहिदैन भन्ने अवस्थामा पुग्ने समेत बताउनुभयो ।

भौतिक मन्त्रालय अन्तर्गत अघिल्लो वर्ष १५ वटा सडकहरु रातो किताबमा रहेको तर यो वर्ष ७२ वटा पर्न सफल भएको जानकारी गराउँदै उहाँले ६८ वटा सहरी विकास मन्त्रालय अन्तरगत पर्न सफल भएको, १३ वटा डोलिडार अन्तरगत, अघिल्लो वर्ष खानेपानीका आयोजना संघबाट ८ वटा रहेको तर यो वर्ष ३९ वटा संघमा समावेश गर्न सफल भएको जानकारी गराउनुभयो ।