सम्पादकीय

प्रहरीलाई दैनिक ३ सय ब्लफ कल



प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे। महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए ।

कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास गर्‍यो । प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए ।

प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन ? ’ ती व्यक्तिले जवाफ दिए, ‘डर लागेर पुलिसलाई फोन गरेको हो। चोरी भएको छैन ।’ प्रहरीले उनलाई पक्राउ गरी ल्यायो । आइन्दा प्रहरीलाई दुःख दिने र गिज्याउने काम नगर्न चेतावनी दिएर छाडियो ।

यस्ता ब्लफ कल प्रहरीलाई दैनिक ३ सयको हाराहारीमा आउँछ। कोही मादक पदार्थ सेवन गरेर प्रहरीसँग जिस्किन्छन् । कोही छोराछोरीलाई तर्साउने नाममा पुलिस बोलाइदिन्छु भन्छन् ।

कोहीले पटक–पटक एउटै नम्बरबाट फोन गरी सम्पर्कविहीन हुन्छन् । कोहीले प्रहरीलाई गाली गर्छन् । कसैले कुनै घटनै नभई र अपहरणै नभई अपहरण भएको भन्दै ब्लफ कल गर्ने गरेको महानगरीय प्रहरी रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताइन् ।

नेपाल टेलिकम, एनसेल र स्काई गरी प्रहरी कन्ट्रोल रुममा १८ वटा फोन उठ्छन्। दैनिक १ हजारको हाराहारीमा आउने कलमध्ये ३ सय ब्लफ कल हुन्छन्। २०७५ मा १०० मा २८ हजार ४ सय ६८ वटा फोन आएका थिए । तीमध्ये ७ हजार ९ सय ८१ वटा ब्लफ कल थिए । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।