राजनीति

प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्र अतुलनिय : मन्त्री मगर



काठमाडौँ, १७ असार । खानेपानी मन्त्री विना मगरले स्व. प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्र राजनीतिक तथा सामाजिक रुपमा अतुलनिय भएको बताउनुभएको छ ।

३८ औँ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा बोल्दै मन्त्री मगरले सगरमाथासँग जोडिएका कथा ब्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औ जन्मजयन्तीको कार्यक्रम गरिएको बताउनुभयो ।

मन्त्री बिना मगरले प्रकाश दाहाल आफैंमा साहसिक योद्धा भएको बताउँदै सगरमाथा आरोहण गर्ने क्रममा पति प्रकाश र आफुले गरेको संघर्ष पनि सुनाउँदै उहाँले भन्नुभयो, ‘हामी हिमाल चढिरहँदा शेर्पाको हातमा हाम्रो सास अडिएको थियो । शेर्पाहरुले हातमा बोकेका अक्सिजनमा प्राण अडिएको थियो साह्रै गाह्रो हुँदा मैले फर्किउँ पनि भनेको थिएँ तर उहाँले हामीले सफलता हात पार्ने छौं भन्दै फर्कन मान्नु भएन ।’

प्रकाश दाहाल र विना मगरले एकसाथ सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणलगत्तै उनीहरुले प्रेम विवाह गरेका थिए । २०७४ मंसिर ३ गते प्रकाश दाहालको असामयिक निधन भएको थियो ।

कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ हुनुहुन्छ ।

सोमवारमात्र दर्ता भएको प्रकाश दाहाल फाउन्डेसनको संयोजक प्रकाश दाहालकी पत्नी एवम् खानेपानी मन्त्री विना मगर आफैं रहनुभएको छ ।