Banner News

मेराे निर्णयले बालुवाटार जग्गामा नक्कली माेही खडा भएकाे हाेइन : पूर्वप्रधानमन्त्री नेपाल



काठमाडौँ, २ साउन । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्णयले नक्कली मोही खडा नभएको दाबी गरेका छन् । ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानमा पूर्वसचिव रहेका आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधव घिमिरेको निर्देशनमा आफूले निर्णय गरेको बताएका थिए ।

नेपालले भने सरकारी जग्गामा आफूले नक्कली मोही खडा नगरेको र मन्त्रालयबाट आएको निर्णयका आधारमा मोहीलाई सट्टाभर्ना र क्षतिपूर्ति दिएको दाबी गरेका छन्। प्रमुख सत्तारुढ दल नेकपाको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले जुनसुकै ओहदा वा भूमिकामा रहे पनि ललितानिवास परिसरको जग्गा हडप्नेमाथि कुनै मोलाहिजा नगरी दण्डित गर्नुपर्ने बताएका हुन्। ललितानिवासको जग्गा भूमाफियाको पक्षमा हुनेगरी भएका निर्णयमा नेपाल नेतृत्वकै मन्त्रिपरिषद्को संलग्नता खुलेपछि उनले यस्तो प्रस्टीकरण दिएका हुन् ।

२०६६ चैत २९ मा नेपालको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तारका नाममा समरजंग कम्पनीको २७ रोपनी ७ आना २ दाम १ पैसा जग्गामध्ये १३ रोपनी ११ आना ४ दाममा मोही कायम गरेर भूमाफियालाई दिएको थियो। तर नेपालले उक्त निर्णय हुनुअगाबै नक्कली मोहीसहित जग्गाको स्रेस्ता कायम भएको दाबी गरेकाे समाचार आजकाे नागरिक दैनिकमा छ ।