Banner News

बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्य सरकारको उच्च प्राथमिकतामा : मन्त्री थापा



काठमाडौँ, ३ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान पीडितको उद्धार तथा राहत कार्यमा सरकारको उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका जानकारी गराउनुभयो । उहाँले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको बताउनुभयो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजीकार्य भइरहेको जानकारी गराउनुभयो ।