समाचार

अवैध लागूऔषधसहित ५ जना पक्राउ



काठमाडौँ, २७ साउन । काठमाडौँमा अवैध लागूऔषधसहित ५ जना पक्राऊ परेका छन ।

महानगरपालिका-१४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरि नगरपालिका थानकोटका ३५ वर्षीय पूर्णदास गोपाली सहित ५ जनालाई लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । पूर्णदास गोपालीको साथबाट नगद ९२ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले सो गेष्ट हाउसमा जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धान गर्ने क्रममा निज गोपालीका साथीहरु बा१ ज ७८७७ नम्बरका ट्याक्सी चालक ललितपुर बखुण्डोल बस्ने तनहुँ दमौली घर भएका ५० वर्षीय जिवन राणा र नख्खु बस्ने नवलपरासी रजहर घर भएका ४० वर्षीय नौमाया मगरलाई लागूऔषध नुरफिन ७० एम्पुल, डाईजोपाम ७० एम्पुल र फेनरागन ७० एम्पुल सहित सानेपाबाट पक्राउ गरेको कालीमाटीका प्रहरीले जनाएको छ ।