मनोरञ्जन

अभिनेत्री पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौँ, २ भदौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पक्राउ पुर्जीविरूद्ध शिल्पा उच्च अदालत पाटन गएकी थिइन्। पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।

सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ। पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।

शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि हेमाले छविलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी थिइन्।

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी उनले दिएकी थिइन्। उनले छवि र शिल्पा दुवैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ  जरिमाना हुनसक्छ ।