सम्पादकीय

निजगढ विमानस्थल निर्माण प्रस्ताव : यी हुन् इच्छुक कम्पनी



बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको नेपाल लगानी बोर्ड स्रोतले जनाएको छ ।

‘यो बिमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत स्वीट्जरल्याण्ड, फ्रान्सका एक/एक र चीनका दुई कम्पनीहरु त्यो मापदण्डमा परे । त्यसकारण उनीहरुबीच नै प्रतिस्पर्धा गराइने सम्भावना छ ।’ प्रस्तावित कम्पनीहरुको मूल्यांकनको काम सकेर प्रतिस्पर्धा प्रक्रिया अघि बढाउन बोर्ड बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको छ ।

३ अर्ब अमेरिकी डलर (हालको विनियम दरअनुसार ३ खर्ब ४० अर्ब रुपैयाँ)को लागत अनुमान गरिएको यो आयोजनामा प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्ड बैठकबाट निर्णय भएपछि मात्र प्रक्रिया अघि बढ्नेछ । यो समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।