विश्व

अमेरिकामा मोदीकाे भव्य स्वागत



एजेन्सी, ७ असोज । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत समारोह आयोजना गरिएको छ ।

टेक्सास राज्यको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ नाम दिइएको कार्यक्रममा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका थिए । साथै दुवै नेताले उक्त कार्यक्रममा सम्बोधन गरे । करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले ‘पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनी टिप्पणी गरे ।

कार्यक्रमको नाम हाउडी मोदी, बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न उक्त शब्द प्रयोग गरिन्छ । दुवै नेताले आतंकवादविरुद्ध मिलेर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मोदीले भने, ‘हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ । उहाँलाई कुनै परिचयको खाँचो छैन । विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन् । यो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए । उहाँको स्वागत गर्नु मेरा लागि सम्मानको विषय हो ।’

त्यस्तै कार्यक्रममा ट्रम्पले भने, ‘तपाईँहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौँ । हामी दुवै देश आफ्ना नागरिकप्रति समर्पित छौँ । आफ्ना नागरिकको रक्षा गर्न हामीले सीमाको रक्षा गर्नुपर्छ । अमेरिका र भारतको निम्ति सीमाको सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीलाई थाहा छ ।’