राजनीति

डा. सुरेन्द्र यादवको मानसिक सन्तुलन गुम्यो : सांसद पहारी



काठमाडौँ, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले जनता समाजवादीका नेता, पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभाका सांसद डा. सुरेन्द्र यादवले पछिल्लो समयमा दिनुभएको अभिव्यक्तिबाट उनको मानसिक सन्तुलन समेत गुमेको जस्तो देखिएको बताउनुभएको छ ।

एभरेष्ट मिसनसँग कुरा गर्दै सांसद पहारीले सांसद डा. सुरेन्द्र यादव अपहरण भन्ने झुटा हल्ला कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कुदेजस्तो मात्र भएको बताउनुभयो । विशुद्ध राजीतिक स्वार्थको लागि मन्त्री बन्ने सपना बोकी आफ्नो आफन्तसहित काठमाडौँ आएको उल्लेख गर्दै सांसद पहारीले डा. यादवको मन्त्री बन्ने सपना पुरा नभएपछि अपहरणको आरोप लगाएको तथ्यसहित प्रस्तुत गर्नुभयो ।

नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालले डा. यादवलाई अपहरण गरेको भनि झुटा आरोप सहित राष्ट्रिय मानव अधिकार तथा सरकारी वकिल कार्यालय काठमाडौँमा निवेदन दर्ता गरेको प्रसंगमा सांसद पहारीले अपहरण हैन भन्ने प्रष्ट हुँदा हुँदै पनि अनावश्यक चर्चाको राजनीति नगर्न डा. यादव तथा डा. बाबुराम भट्टराईसहितको कम्पनीललाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन जना मान्छेले चार जनालाई कसरी अपहरण गर्यो ? जसमा डा. यादका हतियारधारी पीएसओ साथमा नै थिए, अपहरण गरेको भने उनले के हेरेर वसे ? १२ घण्टामा १२ थरी कुरा गर्ने एउटै व्यक्ति भनेको डा. सुरेन्द्र यादव हुन् । एउटा टेलिभिजनमा एउटा कुरा भन्दै अन्तरवार्ता दिनुहुन्छ । अर्कोमा गएर अर्कौ भन्दै दिनुहुन्छ । हपहरण गर्दा काठमाडौँ आउँदा ठाउँ ठाउँमा खाना नास्ता खाएको, अपहरण गरेको भए काठमाडौँको मेरियट होटलमा कसैले राख्छ ? त्यसमा पनि उनको आफ्नै परिचयपत्रबाट प्रवेश राखिएको हुन्छ ?’

डा. यादवले दवाप, प्रभावमा पछिल्लो समय अन्तरवार्ताहरु दिइरहेको बताउँदै सांसद पहारीले डा. बाबुराम भट्टराईको झुटको खेती लामो नहुने समेत स्पष्ट पार्नुभयो । नेपालमा विधिको शासन रहेको उल्लेख गर्दै उहाँले कानुनभन्दा माथि कोही नहुने उल्लेख गर्दै भन्नुभयो, ‘सम्बन्धीत निकायले छानविन गर्छ, छानविन पछि दुधको दुध, पानीको पानी छुट्टीएर आउने छ । झुटको खेती लामो हुँदैन ।’

डा. यादव अपहरणमा पर्नु भएको हैन भनि प्रदेश नं. २ का कौशल यादवले भनेको अडियो रेकर्ड समेत वाहिरि सकेको, विभिन्न सञ्चारमाध्यमा छेपारोले रंग फेरेजस्तै गरी फरक फरक मिडियामा फरक फरक बोलि फेर्दै दिएको अन्तरवार्ता, सँगै आउनेले अपहरण हैन भनिरहेको अवस्थामा कानुन विद्हरुले समेत अपहरण भन्ने व्यक्तिलाई नै उल्टै कारवाही हुने कानुनी आधारहरु समेत प्रस्तुत गरेकाले कानुन भन्दा माथि कोही नहुने भएकाले झुटको खेती बन्द गर्न समेत सांसद पहारीले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डा. यादवसँगै काठमाडौँ आउनेमा समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरिया, प्रदेश नं. २ का सांसद कौशल यादव, उनका भिनाजुलगायतका सँगै आएकोमा अरु अपहरण नपर्ने अनि उनीमात्र कसरी अपहरण भयो ? अपहरण भएको नै भए त अरु सांसद तथा उनका आफन्तले पनि म अपहरणमा परेको हो भन्नु पर्ने नि ? उनिहरु चाँही किन अपहरण परेको हैन भन्दैछन् ? यसबाट प्रष्ट हुन्छ कि डा. यादव दवाप र प्रभावमा पारि अनावश्यक तर्क गर्न लगाइएको हो ।’

आंकाजी शेर्पाले मेरियट होटलमा गई आफ्नो सामाजिक सञ्जालमा गरेको प्रत्यक्ष प्रशारण, डा. यादव र डा. भट्टराईले फरक फरक दिन बाबुरामको घरको एउटै सोफामा वसेर दुवैले दिएको अन्तरवार्ताबाट डा. बाबुरामले दवाप तथा प्रभावमा पारि डा. यादवलाई झुट बोल्न लगाएको स्पष्ट रहेको समेत सांसद पहारीले दावी गर्नुभयो ।