राजनीति

ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा



काठमाडौँ, १९ भदौ । ‘हुन्छ र हुँदैन’को लामै फन्को मारेर अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राख्दै आएका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका बहुमत नेता गौतमका पक्षमा लबिङ गरिरहेका थिए । त्यसैले बिहीबारको बैठकमा गतिलै वैचारिक झडप हुने आकलन गरिएको थियो । तर, स्वयं प्रधानमन्त्री ओलीले गौतमको नाम घोषणा गरिदिए ।

गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो । लगत्तै प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए । त्यसले सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्रीले खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष दाहाल, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेका थिए । उनीहरू नमानेपछि आफैंले गौतमको प्रस्ताव ल्याएका थिए ।

‘केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिवाट मनोनीत गरिने राष्ट्रिय सभा को रिक्त एक पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि सिफारिस गर्ने क्रममा सरकार पुगेको जानकारी प्रधानमन्त्रीले गराउनुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीको संकट टार्न गौतमले बेलाबेला यसबीच महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैले पनि उनलाई चिढ्याउने पक्षमा प्रधानमन्त्री थिएनन् ।

गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका थिए । नेकपाको ९ सदस्यीय सचिवालयमा उनी एक्लै सांसद थिएनन् । अब सबै हुने भएका छन् । प्रतिनिधिसभा चुनावमा पराजित श्रेष्ठ भने यस अगाडि नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

गौतमको राष्ट्रिय सभा प्रवेशसँगै अर्थमन्त्री डा. खतिवडाको पद भने धरापमा परेको छ। अब उनको पद २१ भदौको मध्यरात १२ बजेसम्मका लागि मात्र छ । स्रोतका अनुसार शुक्रबार ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्नेछ । त्यहीँ खतिवडाको बिदाइ हुने सम्भावना छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।