राजनीति

भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रम ओली



काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् ।

आज संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित समारोहमा बोल्दै भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ भन्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

उनले भने, “सुशासन र पारदर्शिता विकासको अत्यावश्यक सर्त हो । अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ,” “भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरूले यस अवधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बितेका दुई आर्थिक वर्षमा ७ सय ९२ केसहरूमा मुद्दा चलाएको उनको भनाइ थियो । त्यस्तै राजस्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको बिगो दाबीसहित राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुन्डी कारोबारमा मुद्दा चलाएको उनको बताए ।