राजनीति

विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्यायोः गृहमन्त्री थापा



काठमाडौँ, १९ असोज । गृहमन्त्री रामबहादुर थापाले थापाले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा गृहमन्त्री थापाले प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानुन निर्माण भइसकेको उल्लेख गर्नुभयो । विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, ‘औद्योगिक मुलुकले लिएको विकाससम्बन्धी गलत नीतिले पृथ्वीको तापक्रम बढन गई जलवायु परिवर्तनमा आएको असरको कारण अनेकौं विपद्का घटना निम्त्याएको छ । प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको छ ।’

महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताउँदै उहाँले भन्नुभयो, ‘महिला सेलजस्तै प्रहरीमा दलित डेक्स बनाउने सोच अघि सारिएको छ, अघिल्ला वर्षको तुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको छ, यो चिन्ताको विषय हो ।’

यसअघि बैठकमा सदस्यहरुले विकास भनेको सडकमात्र हो भन्ने बुझाइ र बिना गुरु योजना हतारोमा सडक बनाउने कार्यले पहिराका जोखिम निम्त्याएको सडक खन्ने कार्यलाई व्यवस्थित र योजनाबद्ध ढंगबाट बढाउन सुझाव रहेको थियो । जोखिम बस्ती स्थानान्तरणमा विशेष ध्यान पुर्‍याउन पनि गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले तीन तहका सरकारबीच समन्वयका साथ काम गर्न तथा प्रभाव र पहुँचका आधारमा आयोजना छान्ने गलत प्रवृत्ति रोक्न सुझाव थियो ।