Banner News

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत डेरबीच भेटवार्ता



काठमाडौँ, २ चैत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले भेटवार्ता  गरेका हुन ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए ।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे । दूतावासले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना(प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गरे ।

इजरायलमा वार्षिक पाँचसय जना नेपाली एघार महिने कृषि तालिम लागि जाने गरेको बताउँदै उनले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराए ।