Banner News

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने



काठमाडौँ, ९ चैत । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो । पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा अनिर्णयको बन्दीमा पार्टीलाई नराख्न दबाब दिने भएको छ । काँग्रेसले निर्णयले गरे जसपाको सिंगो पार्टीले साथ दिने बुझाइ पौडेल पक्षको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।