समाचार

काठमाडौँमा यी ठाउँबाट निःशुल्क एम्बुलेन्स सेवा



काठमाडौँ, १७ बैशाख । काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच ठाउँबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्‍याउन नसक्दा अकालमा ज्यान जान सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच ठाउँबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउने छन् ।

राष्ट्रिय सभा गृह, ट्रलीबस परिसर, वडा नम्बर ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुई/दुई वटा एम्बुलेन्स चौबीसै घण्टा तैनाथ गरिएको छ । यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।

यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । यस सेवा प्रदान गर्नका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स एक लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसबापत सङ्घले १५ दिनका लागि चौबीसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउने छैनन् । यो सुविधा महानगरबाट दुई किलोमिटरभन्दा टाढासम्मका लागि हो तर डाइलासिस र क्यान्सर उपचारका लागि भने दुई किलोमिटरको दुरीभन्दा बाहिर पनि जानुपर्नेछ ।

यस सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ । एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।

चावहिल, वडा ७ परिसर
बा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

ट्रली बस मीनभवन
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक, गोवर्द्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५