समाचार

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते एकजनाको मृत्यु



काठमाडौँ, १८ वैशाख । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । प्रहरी परिसर ललितपुरका अनुसार डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ । अस्पतालमा उपचाररत करिब ९० बिरामीलाई बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अरू स्वास्थ्य चौकीहरूमा सारिएको छ ।