राजनीति

देउवाको नेतृत्व चरम असफलता र भिख माग्ने भयो: नेता पौडेल



काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गराउन नसक्नु पार्टीको वर्तमान सभापति तथा नेतृत्वको चरम असफलता भएको बताउनुभएको छ ।

उहाँले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको पनि टिप्पणी गर्नुभएको छ । वर्तमान अवस्था देशकै लागि विडम्वना भएको भन्दै उहाँले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगेको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?”