राजनीति

पुल बनाउन भारतले दिएन सहमति



धनगढी, २७ फागुन । भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ ।

दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ ।

दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन । “भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उहाँले भन्नुभयो, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।”

गुलरिया घाटमा पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा साढे ४७ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । सरकारले बजेट विनियोजन गरेपछि गत भदौमा डिभिजन कार्यालयसहित जनप्रतिनिधिको टोलीले सो स्थानको निरीक्षण गरेको थियो । पुल बनाउनका लागि निरीक्षण भए पनि थप प्रक्रिया अगाडि बढ्न नसकेको भजनी नगरपालिका–५ का वडा अध्यक्ष केशवबहादुर बुढाले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।