राजनीति

काठमाडौँ महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने



काठमाडौँ, ४ बैशाख । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने भएको छ । प्रत्येक शुक्रबार कापी किताब तथा झोला बिनै विद्यार्थीहरू विद्यालय जान पाउने भएका हुन् ।

मेयर बालेन शाहको विशेष चाँसोमा उक्त कार्यक्रम लागू गर्न लागिएको हो । मेयर शाहले गत वर्ष नै उक्त कार्यक्रम लागू गर्न भनेका थिए । तर, शैक्षिक सत्रको बीचमा कार्यक्रम लागू गर्दा त्यसले असर गर्न सक्ने भन्दै रोकिएको थियो ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विद्यार्थीहरू कापी किताब नलिएर विद्यालय जाने बताए । ‘विद्यार्थीहरू झोला र कापी किताब नलिएरै आउने । खेल्दै रमाउँदै आउने खालको हो,’ उनले भने ।

विद्यालयमा आएर खेल्ने रमाउने मात्र नभएर पुरै सिस्टमेटिक गरेर अरू सीपहरू सिकाउन उक्त अवधारणा अघि सारिएको उनको भनाई छ ।

मेयर शाहकै ब्रड भिजन अनुसार उक्त कार्यक्रम अघि बढाउन खोजिएको उनले बताए । ‘मेयरसापको अलिकति ब्रड भिजन अनुसार नयाँ एप्लाई गर्न खोजिरहेका छौं । काठमाडौँमा सफल भयो भने नेपालभर लागू हुनसक्छ । यो भिजनलाई बिस्तारै लगेर जान म प्रयप्त गरिरहेको छु,’ उनले भने ।

बुक फ्रि डे भनेपछि अभिभावकहरू तथा बालबालिका पढाई नै नहुने भनेर कतै नकारात्मक प्रभाव पर्नेबारे आफूहरू सचेत रहेको उनको भनाई छ ।

‘कतै नेगेटिभ भएर होलिडे भनेर अथवा खेल्ने दिन भनेर अभिभावकहरूले बालबालिकालाई विद्यालय नै नपठाउने हुन कि भन्ने पनि छ । यसका लागि हामी धेरै सोचेर अगाडि बढ्न खोजिरहेका छौं,’ उनले भने ।

शुक्रबारको दिन बालबालिकाहरूलाई आवश्यक परेको खण्डमा विद्यालयबाटै नोट कपी दिइन्छ । आवश्यक परेको खण्डमा उनीहरू त्यही नोट कापीमा खेल्न सक्छन् । र त्यसपछि त्यो कापी विद्यालयमै छोड्नुपर्ने हुन्छ ।

यसका लागि दुई चरणमा विभाजन गरिएको छ । ‘टिफिन टाइमभन्दा अगाडिको समयमा करिकुलम एक्टिभिटी हुन्छन् । टिफिन टाइमभन्दा पछाडिका स्किलबेस र एक्ट्रा एक्टिभिटी हुन्छन्,’ शिक्षा अधिकारी सुवेदीले भने ।

महानगरले सिकाउने भनेको सफ्ट स्किल कार्यक्रम पनि यही अन्तर्गतको हो । विद्यार्थीहरूलाई विद्यालयको पढाइमा मात्र केन्द्रित गराएको तर, जीवनको पढाई गराउन नसकिएको उनको भनाई छ ।

‘हामीले बच्चाहरूलाई पढाइतिर मात्र ध्यान केन्द्रित गरायौं । दूध उत्पादन कसरी हुन्छ ? धान उत्पादन कसरी हुन्छ ? लगायतका जीवन उपयोगी विषयहरू पढाई हुन सकेनन् । यसमा हामीले प्रयोग नै गरेर जाने हो,’ उनले भने । विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान सिकाउनको लागि शुक्रबार छुट्याइएको उनको भनाई छ ।

‘व्यवहारिक शिक्षामा सिकाउनुपर्ने धेरै विषय रहेछन् । व्यवहारिक कुरा सिकाउनुका साथै गीत नाच गान लगायतका क्रियाकलाप त हामीले पहिलादेखि नै गर्दै आएका छौं,’ उनले भने, ‘मोबाइलको सेक्युरिटी सचेतना, यौन सचेतना, मानव अधिकार जस्ता थुप्रै कुराहरू छन् । त्यसैले हामीले पढेको कुरा ५० प्रतिशत मात्रै रहेछ । बाहिर सिक्नुपर्ने कुरा ५० प्रतिशत नै रहेछ । जुन हामीले कहिल्यै पढेनौं र सिकेनौं पनि ।’