समाचार

आजको मौसम



काठमाडौँ, ७ जेठ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेसका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र मधेसको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।