राजनीति

सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाको असन्तुष्टि



काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद्मा सांसदले व्यक्त गरेका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्, “कस्तो विडम्बना ! संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरूप कार्य गर्ने,” “सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियतता कति दिन ढाक्न सकिएला र ?”

“हामी हाम्रो सांसदको गरिमालाई कता लैजाँदै छौँ ? के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो ?,” उनले प्रश्न गरेका छन् । “संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला,” उनले थप लेखेका छन्, “तर, यो देशमा आमजनता, नागरिक समाज तथा सञ्चारजगत पनि छन् भन्ने कुरा बुझौँ ।”