Banner News

अनुचित ढङ्गले कोशी प्रदेशको नाम परिवर्तन हुँदैन : अध्यक्ष ओली



काठमाडौँ, ३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले कोशी प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ ।

आइतबार सातै प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित प्रदेश सांसदहरूसँग भर्चुअल बैठकमा उहाँले कोशी प्रदेशमा साम्प्रदायिक र हिंसात्मक गतिविधि भएको बताउँदै एमालेले नस्वीकार्ने बताउनुभयो । अध्यक्ष ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा स्वार्थ प्रेरित भएको टिप्पणी गर्नुभयो । बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिँदै अध्यक्ष ओलीले बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन आग्रह गर्नुभयो ।