अर्थ

जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ



जुम्ला, ७ साउन । जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ । यहाँस्थित डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मल्लले भने, “जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने  छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।”

गएको असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाँडभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकामस्थित डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।

गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल नुन कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए । रासस