अर्थ

आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि



काठमाडौँ, ९ साउन । आर्थिक वर्ष २०७९/८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ ।यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.४५ प्रतिशतले थोरै रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापार घाटा १७ खर्ब २० अर्व ४१ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत २०७९ को साउन देखि २०८० को असारसम्ममा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा १९ खर्ब २० अर्वको आयात र २ खर्बको निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले र निर्यात २१.४४ प्रतिशतले घटेको तथ्यांक रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।