अर्थ

विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव 



काठमाडौँ, १६ साउन । संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ ।

पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ । विगतको तुलनामा डब्ल्यूएफपीले दुई वर्षयता आधा मात्र सहायता रकम पाउँदै आएको छ । यसले भोकमरीको समस्या भएका थुप्रै देशका करोडौँ मानिस प्रभावित भएका छन् ।

डब्ल्यूएफपीका कार्यकारी उपनिर्देशक कार्ल स्काउले ८६ देशमध्ये ३८ वटामा विभिन्न सहायता कटौती भएको जानकारी दिनुभएको छ । केही देशमा सहयोग घटाउने क्रममा रहेको पनि उहाँको भनाइ छ । सहयोग कटौती हुने देशहरूमा अफगानिस्तान, सिरिया, यमन र पश्चिम अफ्रिकी देश छन् ।

डब्ल्यूएफपीको कार्यक्रम सञ्चालनका लागि अहिले २० अर्ब डलरको आवश्यकता रहेको तर, पछिल्ला वर्षमा प्राप्त सहायताअनुसार यसवर्ष १० देखि १४ अर्ब डलरसम्म सहायता अपेक्षा गरेको डब्ल्यूएफपीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।