राजनीति

गृहमन्त्रीलाई नेता बस्नेतको प्रश्न: सबै कर्म आफ्नै सेटिङ्ग र प्लानमा गरिरहनु भएको छ?



काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट दर्जनौं जनताको मनमा उठेका प्रश्नहरुको उत्तर खोज्नुभएको छ ।

उहाँले सत्ताको आडमा देशमा भएका तस्करीका गम्भीर अपराधहरुमा जोडिएका माओवादी शीर्ष नेताहरुलाई उन्मुक्ति दिने खेलमा सरकार लागिपरेको भन्दै आक्रोस जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ताको आडमा तस्करी जस्तो गम्भीर अपराधमा जोडिएका माओवादी शीर्ष नेतालाई उन्मुक्ती दिंदै छ सरकार ! सामान्य सोधपुछ गर्ने हिम्मतसम्म गर्दैनन् अनुसन्धान गर्ने आधिकारिक निकाय र प्रहरी !’ तस्करीमा जोडिएका माओवादी शीर्ष नेताहरुको नाममा प्रहरी प्रशासनले सोधपुछ गर्ने हिम्मत समेत नगरेको भन्दै गृहमन्त्रीकै संलग्नता त छैन भनि गम्भीर प्रश्न गर्नुभएको छ ।

आफ्नो नेतृत्वलाई बचाउन माओवादी कार्यकर्ताहरु एमालेलाई विभिन्न आरोप लगाउने गरेकोमा आपत्ती जनाउँदै नेता बस्नेतले सुन तस्करी काण्डलाई जरैसम्म पुगेर अनुसन्धान गर्न उच्च तहको छानविन आयोग बन्न आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले सामाजिक सञ्जालमा भन्नुभयो, ‘हरेक अपराध र तस्करीमा जोडिने माओवादीहरु फाइल खोले भनेर हल्ला गर्दै आफ्नो पार्टी र सत्ता गठबन्धनसँग जोडिएका नेताहरुको फाइल मिलाउन चाहन्छ । जस्तो भुटानी शरणार्थी काण्डमा प्रचण्ड, आरजु र मन्जु खाँण । बालुटार जग्गा प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई, विजय कुमार गच्छेदार, लिलामणी पौडेल लगायत । सुन तस्करी प्रकरणमा माओवादी र काग्रेसका तस्करहरुसंग भोज खाने र फोटो खिच्ने नेताहरु । त्यस्तै लडाकु शिविरको घोटाला , वाइडबडी , सीसीटीभी फुटेज गायब गरेर तस्करसँग मिलेर करका दररेट तलमाथि गरेको प्रकरण इत्यादी । कि गृहमन्त्री ज्यु मोहरा बन्दै हुनहुन्छ । कि मुखमा राम राम बगलिमा छुरा बोकेर हिड्दै हुन्हुन्छ । कि सबै कर्म आफ्नै सेटिङ्ग र प्लानमा गरिरहनु भएको छ । यसरी उहाँमाथी प्रश्नै प्रश्न सिर्जना खडा भएको छ । स्वयम् प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र सत्ताधारी उच्च नेतृत्वमाथि प्रश्न उठेपछि यी सबै विषयको सत्य र रहस्य पत्ता लगाउन पनि उच्च तहको छानविन आयोग बन्न आवश्यक छ ।’

सरकारकै संलग्नतामा सुन तस्करी भएको अनुमान लगाउन कठिन भएको उल्लेख गर्दै नेता बस्नेतले जनतामा लागेको प्रश्नलाई अन्यत्र मोड्न खोज्नु अझै ठूलो गम्भीर अपराधिक षड्यन्त्र हुन सक्ने उल्लेख गर्नुभयो । एमालेको अडानमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आपत्ती जनाउनुमा सुन काण्डमा अनुसन्धानको सुई त्यस तर्फ समेत फर्कनुपर्ने संकेत गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘रास्वपा कार्यब्यवस्था समितिको बैठकमा भन्छ, सदन अवरोध भएकोले जनताका समस्या ओझेल परे । के सुन तस्करी र लुट जनताका समस्या होइन ? किन यिनीहरु यो विषयलाई अन्यन्त्र मोड्न खोज्दैछन् ? माओवादी सांसद भन्छन्, एमालेले आफु निकट सुन तस्करलाई उम्काउन उच्च स्तरीय छानविन आयोग माग्यो । तस्करसँगको हाम्रा नेताहरुको फोटो त संयोग मात्रै हो रे ।’