समाचार

धादिङको हुग्दीखोलामा बस पल्टिँदा २० जना घाइते



काठमाडौँ, २ भदौ । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिन जाँदा बसमा सवार घाइते भएका छन ।

गम्भीर घाइते भएका रुकुम (पश्चिम) चौरजारी १४ बस्ने २८ वर्षीय प्रेम पुन, दाङको दांगीशरण १ बस्ने ८५ वर्षीय शिवलाल विकलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । सल्यान.बाघचौर १० बस्ने ५० वर्षीय मानबहादुर खड्कासहित बाँकी घाइतेहरुको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ । मलेखुमा उपचाररत सल्यान सबेश्वरी ३ बस्ने २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पुनकी श्रीमती ३२ वर्षीय रेखा केसी पनि घाइते भएकी र उनीहरुको शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा काभ्रेको धुलिखेल १० बस्ने ५९ वर्षीय नारायण धिमाल, सोही स्थानकी ५० वर्षीय रेखा वली धिमाल, दाङको बबैई ५ बस्ने २३ वर्षीय प्रदीप श्रीस, उनकी श्रीमती २२ वर्षीय मञ्जु श्रीस, तुल्सिपुर ७ बस्ने ३३ वर्षीय विजय केसी, रुकुम (पूर्वी) सिस्ने ८ बस्ने ३१ वर्षीय योगेश बुढा रहेका छन् । यस्तै, सल्यान.बाघचौर १० का २८ वर्षीय खडक विक, बाघचौर ९ बस्ने ४८ वर्षीय धनबहादुर वली, रुकुम (पश्चिम) चौरजहारी १० बस्ने ३२ वर्षीय प्रविण वली, चौरजहारी १३ बस्ने २८ वर्षीय सचिन बिष्ट, दाङ भालुबाङ १ बस्ने ३८ वर्षीय सलमा खातुनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

भालुबाङ १ कै ३८ वर्षीय मोहमद हुसेन, तुल्सीपुर ५ बस्ने ३० वर्षीय मनोज खड्का, रुकुम (पश्चिम) चौरजहारी १४ बस्ने ३० वर्षीय वीरेन्द्र केसीको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।