अर्थ

प्याज किलोको ८५



काठमाडौँ,  ४ भदौ । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेसँगै नेपाली उपभोक्ताको भान्सा महँगिएको छ । प्याजमा कर लगाउने भारतीय निर्णयको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो । भारतको वित्त मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्यात कर ४० प्रतिशत लगाउने घोषणा गरेको छ ।

भारतीय घोषणासँगै आइतबार नेपाली बजारमा प्याजको भाउ किलोमै सरदर २५ रूपैयाँ बढेको छ । पुरानो खरिद भए पनि व्यापारीले भाउ बढाएका छन् । नेपाली भान्सा भारतीय प्याजमा निर्भर रहेकाले कर लगाउने निर्णयले भाउ बढेको नेपाल आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए । ‘भारतले आफ्नो देशबाट निर्यात घटाउन ४० प्रतिशत निर्यात कर लगाएको छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर नेपालको बजारमा पर्न थालेको छ ।’

भारतले प्याज उत्पादनमा कमी आएपछि निर्यात घटाउन कर लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्तरिक बजारलाई ध्यानमा राखेर भारतले निर्यातमा उच्च कर लगाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए । ‘आफ्ना उपभोक्तालाई प्याज अपुग हुने भएपछि निर्यात रोक्न भारतले कर लगायो,’ उनले भने, ‘मारमा नेपाली उभोक्ता परेका छन् ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।