समाचार

काठमाडौँमा नियन्त्रणमा आएन आँखा पाक्ने समस्या



काठमाडौँ, ६ भदौ । आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ ।तिलगंगा आँखा प्रतिष्ठानमा पछिल्लो साता दैनिक सरदर १५० जना कन्जन्टीभाइटीस् संक्रमित आइरहेको तथ्यांक छ । प्रतिष्ठानमा अघिल्लो साता अगष्ट ११ देखि १५ सम्म पाँचदिनमा ८३० जना संक्रमित बिरामी थपिएका थिए ।

कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा दैनिक आउनेमध्ये ३० देखि ३५ प्रतिशतमा भाइरल कन्जन्टीभाइटीस् देखिइरहेको छ । संक्रमण केही मत्थर भएजस्तो देखिए पनि उल्लेखनीय रूपमा नघटेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य बताउँछन् । यो दर अघिल्लो साता ५० प्रतिशतभन्दा माथि थियो । तर, अहिले पनि विद्यालय उमेरका बालबालिका, युवा तथा एकै परिवारका धेरैजना सदस्य संक्रमित भएका केसहरू देखिइरहेको डा. वैद्यले बताए ।