अर्थ

परिसूचक नेप्से ३९.४८ अंकले बढ्यो



काठमाडौँ, २७ भदौ । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा ३९.४८ अंकले बढेको छ ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्म निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।

आज नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको भने घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर कायम रहेको छ ।

परिसूचकमा उत्साहजनक वृद्धि आउँदा वरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ बढेर २४२ रुपैयाँ पुगेको छ । यसबाहेक, शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।

परिसूचक बढेपनि थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने ८ प्रतिशतको गिरावट आएको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेर ३१३ रुपैयाँ पुगेको छ । यस्तै आज एनआईसी एसिया बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।