समाचार

चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।संघका महासचिव डा. सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

गत भदौ २७ गते डा. थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो ।

सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरू डा. थापा र डा. बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । बुधबार चिकित्सकहरुमाथि अस्पतालभित्रै आक्रमण भएको थियो ।