समाचार

बाँकेमा बढ्दै इन्फ्लुएन्जाको संक्रमण



बाँके, ३१ भदौ । बाँकेमा इन्फ्लुएन्जाको संक्रमण ह्वात्तै बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको हो । इन्फ्लुएन्जाका बिरामी बढ्न थालेका अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाहले बताए ।

उनका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको संक्रमण बढी देखिएको हो । उपचारका लागि आएका बिरामीमध्येबाट संकलित नमुना परीक्षणका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ ।

साप्ताहिक रूपमा पठाउने गरिएको नमुनामा इन्फ्लुएन्जा देखिएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए ।

इन्फ्लुएन्जाको संक्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छ । पछिल्लो एक सातादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या ह्वात्तै बढेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामी बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ ।

“मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो, यसलाई फ्लु पनि भन्ने गरिन्छ । मौसम परिवर्तन हुने समयमा लाग्ने रुघाखोकी नै इन्फ्लुएन्जा अर्थात् मौसमी फ्लु हो । इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ,” उनले भने, “यो निकै संक्रामक हुन्छ । संक्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ । बिरामी नजिक जानु नै पहिलो जोखिम हो ।”

परिवारको एक सदस्यबाट अरूमा, विद्यालय र होस्टेलका विद्यार्थीमा एकार्कामा सर्ने जोखिम अत्यधिक हुन्छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।

अस्पतालमा अहिले दैनिक रुघाखोकीका बढी बिरामी उपचारका लागि आउने गरेका अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे बताउँछन् । उनका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ ।

भेरी अस्पतालको बहिरंग सेवामा जाँच गराउन आउनेमध्ये दैनिक ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिकांशमा इन्फ्लुएन्जा पुष्टि हुने गरेको छ ।

चिकित्सकका अनुसार इन्फ्लुएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ‘ए’ र ‘बी’ बढी देखिने गरेको चिकित्सक बताउँछन् ।

फ्लुका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छ । यस्तै, आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्नेजस्ता लक्षण देखिन्छ ।

फ्लु संक्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको संक्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ । फ्लुका लक्षण सामान्यतया सात दिनसम्म रहने र विस्तारै हराउँदै जाने चिकित्सक बताउँछन् ।

डा. पाण्डेका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, कुपोषित बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरामीलाई फ्लुले बढी असर गर्छ । विभिन्न किसिमका भाइरल संक्रमणबाट जोगिन इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन उचित हुने उनको सुझाव छ ।

इन्फ्लुएन्जाविरुद्धको खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ । रासस