विश्व

भारतका पूर्वक्रिकेट कप्तान विशनसिंह बेदीको निधन



काठमाडौँ, ६ कार्तिक । भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए । 

“भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैँ सम्झिनेछ”, भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत (बीसीसीआई) का पूर्वअध्यक्ष ठाकुरले पत्रकारहरूसँग भने, “यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो, यो दुःखद घडीमा सम्पूर्ण क्रिकेट जगत् उहाँको परिवारको साथमा छ ।” इरापल्ली प्रसन्ना, श्रीनिवास वेङ्कटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा दुई ६६ विकेट लिएका थिए ।

बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । बेदी प्राय साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी थिए । ठूलो पगरी र हँसिलो अनुहारका साथ उनी दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक थिए । तर, पछिल्ला केही वर्षमा खराब स्वास्थ्यका कारण उनलाई सक्रिय सामाजिक जीवनबाट टाढा राखेको थियो । 

दुई वटा विवाह गरेका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । उनीका कान्छा छोराले सन् २००२ की मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका छन् । पाकिस्तानका पूर्वकप्तान इन्तिखाब आलमले उनको निधनमा दुःख प्रकट गरेका छन् । उनले भने,  “उहाँसँग मेरो धेरै सौहार्दपूर्ण र मित्रतापूर्ण सम्बन्ध थियो, उहाँ एक महान स्पिनर हुनुहुन्थ्यो, यो क्रिकेट र विशेषगरी भारत–पाकिस्तान क्रिकेटका लागि ठूलो क्षति हो ।” एजेन्सी