Banner News

जनयुद्धपछि ‘प्रचण्डपथ’ छाडेपछि पार्टी फुट्यो: प्रधानमन्त्री प्रचण्ड



सुर्खेत, ९ कार्तिक । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको माओवादी जनयुद्ध, पार्टी विभाजन र अबको समाजवादी क्रान्तिको विषयमा व्याख्या गरेका छन् ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत आफ्नो नेतृत्वमा रहेको बाँफिकाेट गाउँपालिका- ६ र ७ को विस्तारित बैठकलाई सकाएका उनले सोही पालिकामा आयोजित मग्मा सहिद स्मृति भेलाको उद्घाटन गरे । जनयुद्धपछि ‘प्रचण्डपथ’ छाडेपछि माओवादी विभाजन भएको कुरा बताए ।  विचार मुख्य कुरा हुने बताउँदै उनले हिजो प्रचण्डपथलाई आफैले रोकेको कुरा पनि उल्लेख गरे । रोकेपछि अझ एकताबद्ध होला भनेर आफूले प्रचण्डपथ रोकेको तर पार्टी विभाजन भएकोप्रति उनले दुःख व्यक्त पनि गरे ।

उनले भने, ‘हिजो प्रचण्डपथले बाबुराम, किरणदेखि विप्लव सबैलाई समेटेको थियो । तर, प्रचण्डपथ छाडेपछि पार्टी विभाजनमा पुगेको हो । प्रचण्डपथ छाडेको दिनदेखि मियाे बिनाको दाइँ जस्तो भयो, सबै गोरुहरू जतातता जान मन छ त्यस्तै भयो । त्यसकारण फेरि एक पटक विचार केन्द्रित गर्नुछ । मैले प्रचण्डपथ रोकेपछि पार्टी फुट्यो, त्यो बेला धेरैलाई एकताबद्ध गर्छु भनेर त्यो रोकेको थिएँ, तर परिणाम माओवादी पार्टी नै फुट्यो । सायद त्यो गर्नु गल्ती थियो कि क्या हो भन्ने महसुस गरेको छु। आठौँ महाधिवेशनको प्रतिवेदनमा पनि त्यो कुरा भनेको छु ।’