Banner News

हिजो दसैं बहिस्कार गर्ने नेताहरू आज लुकेर मनाइरहेका छन्: महासचिव पोखरेल 



काठमाडौँ, १० कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेको बताएका छन् ।

दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उनले दसैं कुनै धर्म वा हिन्दुको मात्रै पर्व नभई आम नेपालीको सांस्कृतिक पर्व भएको पनि बताए । नेपाली हिन्दुले मनाए जसरी दसैं भारतीय हिन्दुले नमनाउने पनि उनले उल्लेख गरे ।

‘माओवादी केन्द्रले कुनै समय दसैं-तिहार जस्ता चाडपर्व बहिष्कार कार्यक्रम नै चलायो,’ पोखरेलले भने, ‘त्यो कति गलत थियो भन्ने आज देखिएको छ । जसले बहिष्कारको नेतृत्व गरे, आज उनीहरू घरभित्र लुकेर टीका लगाउनुपर्ने अवस्थामा पुगेका छन् । भारतीय हिन्दुले हामीले जसरी दसैं मनाउँदैनन् भने यो धर्मको चाड हो कि नेपाली संस्कृतिका रूपमा विकसित भएको छ भन्ने कुरा हेर्नुपर्छ। दसैं नेपालीहरूको सांस्कृतिक चाड भएको कुरा बुझ्न जरूरी छ ।’

उनले नेपाल र भारतमा दसैं मनाउने चलन फरक रहेको बताए । भारतका केही ठाउँमा दुर्गा पूजा हुने भए पनि नेपालमा जस्तो शक्तिपिठहरूमा गएर पूजा गर्ने चलन नरहेको उनको भनाइ थियो । त्यस्तै जमरा राखेर टीका लगाउने चलन पनि भारतमा नभएको उनले बताए ।