विश्व

गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा



एजेन्सी, १२ कार्तिक । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ ।

स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ ।

सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । तर यो युद्ध निकै कठिन रहेको उहाँको भनाइ छ । मानवीय सहायतासम्बन्धी निकायहरूले गाजाको अवस्था भयावह रहेको चेतावनी दिएका छन् ।

सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन । तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन् । अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी नौ हजारभन्दा धेरै मानिस मारिएका छन् ।

यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । एक सय २० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।

अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गर्यो । चीनले पक्षमा मतदान गरेको छ । बेलायत सहभागी भएन । भारत तटस्थ रहेको छ । महासभाको प्रस्ताव कानुनी रूपमा बाध्यकारी नभए पनि नैतिक हिसाबले अर्थपूर्ण मानिन्छ ।