पर्यटन

कसरी पुग्ने रारा ? कति लाग्छ खर्च ?



अनुप पौडेल
काठमाण्डौ,१२ कार्तिंक । कर्णाली प्रदेशको पहाडहरूको बीचमा लुकेको देशकै ठूलो रारा ताल ९२९९० मिटर० पुग्नु कठिन यात्रामध्ये हो भन्दा फरक पर्दैन । डरलाग्दो भीरमा भएका सडकले रारा यात्रालाई कठीनताबीच स्मरणीय भने बनाउँछ ।

असोजदेखि मंसिरसम्म रारा घुम्ने उचित सिजन हो । त्यसपछि हिउँ पर्ने भएकाले केही अप्ठेरो हुन्छ । त्यसैले दसैँ–तिहारको सिजनमा रारा घुम्न निस्कँदा मौसम अनुकूल हुन्छ ।

अब रारा कसरी पुग्ने र खर्च कति लाग्छ भन्ने चर्चा गरौँ ।

तपाईं जुनसुकै ठाउँको भए पनि हामी कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई इपिसेन्टर मानेर मार्गनिर्देश गर्ने छौँ । यदि तपाईं ८ जनासम्म अट्ने जिपमा जाने योजनामा हुनुहुन्छ भने केही छिटो पुग्न सकिन्छ । धेरै जना जाने र बस प्रयोग गर्ने हो भने समय लाग्छ । छोटो टर्निङ र दुई वटा ठूला गाडी मुस्किलले अट्ने भएकाले ठूला गाडीलाई समस्या पर्छ ।

जोखिमपूर्ण बाटो भएकाले प्रहरीले दैलेख, कालिकोट क्षेत्रमा राति ७ बजेपछि यात्रा गर्न दिँदैन । त्यसैले दैलेख साँझ ७ बजेअगावै कट्नुपर्छ । त्यसबाहेक जुम्लाको भुलभुलेमा नेपाल आर्मीले पनि ६ बजेपछि रारातिर जान दिँदैन । यी दुई कुरामा ध्यान पुर्‍याउनुहोला । हामीले तयार पारेको यो ‘रारा गाइड’ प्रवेश समयको हिसाबले यी दुवै ठाउँमा अप्ठेरो नपर्ने खालका छन् ।

पहिलो दिन

सुर्खेतबाट रारा तालसम्म पुग्न दुई दिन लाग्छ । सुर्खेतबाट बिहानै ६ बजे उठेर हिँडियो भने पहिलो दिन बास बस्न साँझतिर कालिकोटको नाग्म पुगिन्छ । सुर्खेतबाट डेढ घण्टा जति अघि बडिचौर बजार आउँछ । त्यहाँ चिया–नास्ता गरेपछि बिहानको खाना खान दैलेखको पाल्तडा पुग्न सकिन्छ । बडिचौरबाट पाल्तडा ४ घण्टाको दूरीमा छ ।

क्बनबचmबतजब ऋझभलतपभथकतयलभनयिदबलिभतधयचप
खाना खाएपछि ४ देखि ५ घण्टामा कालिकोट सदरमुकाम मान्म पुगिन्छ । कच्ची र ठाडो उकालो उक्लनुपर्ने भएकाले दैलेख छोडेर कालिकोट उक्लँदा निकै समय लाग्छ । पहिलो रात तपाईं कालिकोटको नाग्म वा जुम्ला सदरमुकाम खलङ्गा बस्न सक्नुहुन्छ । नाग्ममा खाना खाएर खलङ्गा बस्न जान पनि भ्याइन्छ । नाग्मबाट जुम्ला डेढ घण्टाको बाटो हो । यो बाटो कतै कालोपत्रे, कतै कच्ची छ ।

जुम्ला बस्न पहिलो दिन नगई नाग्म बस्न सकिन्छ । रारा पुगेर फर्कंदा एक रात जुम्ला बस्दा पनि हुन्छ । जुम्ला नगई रारा मात्र जाने हो भने नाग्म बस्नु उचित हुन्छ ।

दोस्रो दिन

पहिलो दिन नाग्म वा जुम्लाको खलङ्गा बास बसेमा दोस्रो दिन रारा तालको छेउमै बास बस्न पुग्न भ्याइन्छ । नाग्मबाट सानो गाडी ७ घण्टा र ठूला गाडी ९ घण्टामा सल्लेरी पुग्छन् । ठूलो गाडी भयो र जुम्ला बास बसेमा त्यसमा डेढ घण्टा थप लाग्छ । सानो गाडी भए ३ घण्टा बाटो छोट्टिन्छ ।

जुम्लामा बिहानको नास्ता खाएर ८ बजे नाग्म हुँदै हिँडेमा ५ घण्टा जतिमा जुम्लाको गोठीज्यूउला पुगिन्छ । त्यहाँ खानाको व्यवस्था हुन्छ । गोठीज्यूलाबाट मुगुको सल्लेरी पुग्न ४ घण्टा लाग्छ । सल्लेरीबाट रारा राष्ट्रिय निकुञ्ज सुरू हुन्छ । त्यहाँ एक सय रूपैयाँ तिर्ने र निकुञ्ज हुँदै हिँडेर गएपछि रारा तालको पूर्वी छेउ पुगिन्छ । बिहान ८ बजे जुम्ला सदरमुकाम खलङ्गाबाट हिँडेको अवस्थामा साँझ ६ बजेतिर रारा ताल पुगिन्छ ।

तालको पूर्वी भागमा होटल छैनन् । त्यसका लागि घोडामा वा हिँडेर जानुपर्छ । पूर्वी छेउबाट तालको किनारै–किनार पारिपट्टि पुग्न डेढ घण्टा लाग्छ । घोडावालासँग बार्गेनिङ गर्न सके ५ सय रूपैयाँसम्म लगिदिन्छन् । सल्लेरीबाट रारा ताल छेउका बास बस्ने ठाउँसम्म लगेको एक हजार रूपैयाँ पर्छ ।

रारा छेउमा खानाको ३ सय ५० रूपैयाँसम्म बास बसेको कोठाको १२ सयसम्म पर्छ । त्यहाँ टेन्टमा सुत्ने व्यवस्था पनि हुन्छ । एउटा टेन्टमा ४ जनासम्म अटाउँछन् । कोठा र टेन्टको मूल्य बराबरजस्तै पर्छ ।

तेस्रो दिन

रारा तालको बिहानी दृश्य निकै मनमोहक देखिन्छ । तालको पानी गाढा निलो देखिन्छ जसले रारा पुग्नुअघिका कठिनाइ बिर्साउँछ ।

रारा ताल सर्लक्कै आँखाअगाडि हेर्न भने बास बसेको होटलबाट ३ घण्टा जति माथि मुर्मा टप उक्लनुपर्छ । घोडाले ३ हजार रूपैयाँमा ल्याउने–लैजाने गर्छ । बिहान ६ बजे उठेर नास्ता खाएर मुर्मा टप पुग्दा ९ जति बज्छ । एक घण्टा भुलेर फर्कंदा एक बजेतिर बास बसेको ठाउँमा आइपुगिन्छ । त्यहाँ बिहानको खाना खाएर सल्लेरीसम्म पुग्दा ४ बज्छ । सल्लेरीबाट गाडीमा ४ बजे निस्किएपछि ८ बजे आसवास गोठेज्यूउला पुगिन्छ । त्यहाँ व्यक्तिगत र सामूहिक खाना–बासको व्यवस्था हुन्छ ।

मुर्मा टप नगई रारामा बिहानको खाना खाएर फर्किएमा बास बस्न कालिकोटको नाग्म आउन भ्याइन्छ । सुरूमा जुम्ला नगएको भए त्यो दिन जुम्ला बस्दा पनि हुन्छ । त्यहाँ चन्दननाथको मन्दिर, स्याउका बगैँचा घुम्न पाइन्छ । जुम्ला पनि नजाने र यात्रा छोट्याउने हो भने नाग्म बस्नु ठीक हुन्छ । मुर्मा टप गएका फर्किएको हकमा गोठेज्यूलामा बास बस्न भ्याइन्छ ।

चौथो दिन

गोठेज्यूलाबाट बिहान ६ बजे हिँडेमा खाना खान कालिकोटको नाग्म आइपुगिन्छ । मर्मा टप नगई फर्केर नाग्म बसेको हकमा चौथो दिन नै सुर्खेत फर्कन सकिन्छ ।

गोठेज्यूलाबाट नाग्मको दुरी ४ घण्टाको छ । गोठेज्यूला बास बसेको हकमा नाग्मबाट सुर्खेत पुग्न अप्ठेरो नै पर्छ । त्यसैले नाग्मबाट दैलेखको राकममा बास बस्न पुग्दा ठिक्क हुन्छ । नाग्मबाट राकमको यात्रा बढीमा ६ घण्टाको छ । नाग्मबाट सुर्खेत पुगिँदैन भन्ने हुँदैन । राकम पुगेपछि सुर्खेत पुग्न ५ घण्टा लाग्छ । राति अबेर हुने र सडकको अवस्थाले गर्दा साँझ परेपछि यात्रा नगर्दा राम्रो हुन्छ ।

पाँचौँ दिन

राकममा बास बसेमा बिहान त्यहीँ नास्ता गर्दा ठीक हुन्छ । राकमबाट सुर्खेतको बडिचौर पुग्न ४ देखि ५ घण्टा लाग्छ । बिहान राकममा नास्ता गरेर हिँडेमा बडिचौरमा बिहानको खाना खान आइपुगिन्छ । बडिचौरबाट सुर्खेतको दुरी २५ किलोमिटर छ जुन एक घण्टामा भेटिन्छ । यसरी धपेडीबिनै दैनिक ८ देखि १० घण्टा यात्रा गरेर पाँचौँ दिनमा सुर्खेत फर्किइन्छ ।

जहाजमा कसरी जाने रु

जिप, बसमा नजाने हो भने जहाजमा पनि रारा जान सकिन्छ । नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलमा उडान हुन्छ । तर, मौसमका कारणले जहाज कहिले उड्छ उड्दैन टुंगो हुँदैन ।

ताल्चामा नेपाल वायुसेवा निगम, समिट एअर, तारा एअर र सीता एअरले उडान भर्ने गरे पनि मौसम बिग्रिरहने भएकाले उडानको भर हुँदैन । नेपालगञ्जबाट ताल्चा पुगेको एकतर्फी भाडा साढे ७ हजार रूपैयाँ पर्छ । यदि जहाज पाइयो भने ताल्चा विमानस्थलबाट रारा ताल पुग्न ३ घण्टा हिँड्नुपर्छ । नभए त्यहाँबाट जिप रिजर्भ गरेर सल्लेरीसम्म जान सकिन्छ । गाडीमा सल्लेरी पुग्न ३० मिनेट लाग्छ ।

दुर्गम जिल्ला, बिग्रिरहने मौसमले उडानको टुंगो नहुने भएकाले जहाजमा रारा आउजाउ सोचेजस्तो सजिलो छैन ।

खर्च कति लाग्छ ?

तपाईं जति धेरै जानुहुन्छ रारा यात्रा त्यति नै सस्तो पर्छ । जस्तै सुर्खेतदेखि रारासम्म पुग्दा दुईदेखि चार जनासम्म अटाउने कोठा पाइन्छ । एउटा कोठाको मूल्य ८ देखि १२ सय रूपैयाँसम्म पर्छ । यसरी एउटा कोठामा ४ जना सुत्दा एक जनाको भागमा ३ सय रूपैयाँ पर्छ ।

यो रूटभर खाना खाना २ सय ५० देखि ३ सय रूपैयाँसम्म पाइन्छ । बिहानको नास्ता, बिहान–बेलुकाको खाना र गाडी नै बुक गरेर लैजाँदा एक जनाले दैनिक १५ सयदेखि २ हजार रूपैयाँ खर्च स्टिमेट गर्दा मज्जालै पुग्छ । अर्थात्, साथीभाइ वा परिवार मिलेर एउटा जिपमा गएको हकमा सुर्खेतदेखि मुगुको रारा ताल पुग्न १५ देखि २० हजार रूपैयाँ भए पुग्छ । खान–बस्नभन्दा पनि जिप बुक गरेर जाँदा खर्च धेरै निस्कन्छ ।

ध्यान पुर्‍याउनुपर्ने कुरा

पहिलो, निजी गाडीमा जाँदै हुनुहुन्छ वा अन्य कुनै गाडी बुक गर्नुभएको छ भने चालक अनुभवी हुनुपर्छ । ‘वान–वे’ र भीरको बाटो भएकाले सुर्खेतदेखि मुगुसम्म भर्खर–भर्खर गाडी चलाउँदै गरेका चालकले जाने आँट नगर्नु नै उचित हुन्छ ।

दोस्रो, कालिकोट क्षेत्रमा अहिले सडक स्तरोन्नतिको काम जारी छ । त्यसैले बीचमै अलपत्र पर्नेसम्मको अवस्था हुनसक्छ । त्यसैले यात्रामा निस्कनुअघि बुझेर मात्र निस्कनु होला । बीचमै अलपत्र पर्न सक्ने अवस्थालाई ध्यान दिएर खानेकुरा र पानी जगेडा गर्नुपर्छ ।

तेस्रो, तपाईं आफूलाई स्वास्थ्यमा केही असहज महसुस भइरहेको समय छ भने यात्रामा ननस्किनुहोला । धुलाम्मे सडकले तपाईंलाई झनै बिरामी बनाउन सक्छ । स्वास्थ्य सबै ठीक छ भने पनि सिटामोल, जीवन जल र अन्य प्राथमिक उपचारमा चाहिने सामग्री लैजान नभुल्नुहोला ।
शिलापत्रबाट